
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक घृणा फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
२९ औँ विश्व आदिवासी दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हिजो आरक्षणको कुरा सुन्नै नचाहानेहरूले अहिले त्यसको जस लिन खोजेर रंग बदलेर विद्रोह र कलह बढाउन खोजेको आरोप लगाए ।
‘अस्तिसम्म हामीले आरक्षणको कुरा गर्दा, ३३ प्रतिशत महिलाको आरक्षणको कुरा गर्दा वा आदिवासी जनजातिको कुरा गर्दा उहाँहरूको सहभागिता यथोचित ढंगले हुनु पर्छ भनेर हामी लड्दा हाम्रो मजाक उडाउनेहरू, आज देशको हिमायतीहरू बनेका छन्,’ ओलीले भने, ‘त्यही तत्वहरू अर्को रंग बदलेर पहिचानको राजनीति भन्दै साम्प्रदायिक घृणा विद्रोह कलहको राजनीति गर्न खोजिरहेका छन् ।’
विविधता मुलुकको विशेषता भएको भन्दै उनले त्यसलाई सम्मान गर्न सबैलाई आग्रह गरे । न्याय र समानताको क्षेत्रमा राष्ट्रिय उपलब्धिमा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।













