News Griha :: न्यूजगृह
डुंगा दुर्घटना हुँदा ४१ जनाको मृत्य, चार जनाको उद्धार

काठमाडौं— भूमध्यसागरमा गत साता आप्रवासी चढेको डुंगा दुर्घटनामा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशंका गरिएको छ । 

संयुक्त राष्ट्र संघीय निकायहरूले बुधबार इटालियन टापु लाम्पेडुसामा ल्याइएका चार जीवित व्यक्तिलाई उद्धृत गर्दै ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट प्रस्थान गरेपछि शुक्रबारको प्रतिकूल मौसममा उनीहरू सवार डुंगा डुबेको जनाएको हो ।

उक्त दुर्घटनामा ज्यान जोगाउन सफल एक १३ वर्षीय किशोर, एक महिला र दुई जना पुरुषलाई व्यापारिक सामान बोकेको पानी जहाजमार्फत उद्धार गरी इटालीका तटरक्षकले लाम्पेडुसामा ल्याइएको थियो । 

लाम्पेडुसामा आप्रवासीलाई मानवीय सहयोग गर्दै आएको इटालीको रेडक्रसले उद्धार गरिएका चारै जनाको स्वास्थ्य सामान्य रहेको बताएको छ । उनीहरू आइभरी कोस्ट र गिनीबाट आएका थिए ।  

ट्युनिसियाको स्फ्याक्सस्थित सरकारी वकिलको कार्यालयले आप्रवासीहरूलाई अवैध रूपमा समुद्री सीमा पार गर्न सघाउनेका बारेमा अनुसन्धान सुरु गरिरहेको बताएको छ । 

यसअघि सोही कार्यालयलका अधिकारीहरूले सोमबार ट्युनिसिया र पश्चिमी सहाराको तटमा १६ जना आप्रवासीको मृत्यु भएको बताएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:२७
Weather Update