News Griha :: न्यूजगृह
'हामी मेयर सापको निर्देशन मान्ने हो, कपन खोला खोलेर जाने हो'

काठमाडौं— काठमाडौं महानगरले कपन खोलामाथि राखिएको स्ल्याब निकाल्ने बताएको छ । महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले आफूलाई मेयरले निर्देशन दिएकाले जसरी भए पनि खोला खुलाउने बताएका हुन् ।

महानगर प्रहरीका प्रमुख पाण्डेले बूढानीलकण्ठका जनप्रतिनिधिको मागको बारेमा आफूहरूलाई सरोकार नभएको बताए । उनले खोला मासेर बनाएका संरचना हटाउँछ भनेर उनीहरूले अवरोध गरेको आरोप लगाए ।

‘यहाँको खोला खोल्छौँ हामी, मैले सुनेँ– यहाँ एक जना वडाध्यक्षको घर पनि पर्छ रे, यो कत्तिको सत्य हो ?’ पाण्डेले भने, ‘देख्नु भएको छ, यहाँको जनता कति पीडित भएका छन्, त्यस कारण हामी जनताका लागि काम गर्ने हो, हाम्रो मेयर सापको स्पष्ट निर्देशन छ, हामी मेयर सापको निर्देशन मान्ने हो, खोला खोलेर जाने हाे ।’

काठमाडौं महानगरको नगर प्रहरी खोला खोल्न गएसँगै बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार भएको भन्दै दुई पक्षीयबीच वार्ता भइरहेको छ ।

काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल कुमार होडाले दुई पालिकाबीचका जनप्रतिनिधि बसेर वार्ता भइरहेको जानकारी दिए ।

खोला खोल्न गएको डोजरलाई अवरोध भएपछि महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई र वडा सदस्य रिता दाहालमाथि दुर्व्यवहार गरेका थिए ।

पाण्डेले बिहीबार साततलेको खोला डोजर लगाएर मात्रै फर्किने बताए । उनले दुई पक्षबीच वार्ता गर्न समय मागेकाले केहीबेर छाडिएको बताए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:५४
Weather Update