
काठमाडौं— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलसँग अपिल गरेका छन् ।
यस क्रममा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का अध्यक्षले आफू पनि जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् ।
भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तरेराष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामाबादबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित एटक सहरको औपनिवेशिक युगको जेलमा राखिएको छ ।
‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नु पर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले हिजो पुनरावेदन दायर गरेका थिए ।
गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो । उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ ।
गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनीमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ ।
पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठहर्याएर उक्त अदालतले शनिबार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।
‘अहिले पाकिस्तानमा कानुनी शासन छैन, हामी एक अदालतबाट अर्को अदालतमा हतार गरिरहेका छौँ, मानवका लागि उपयुक्त नहुने दुःखद अवस्थामा उहाँलाई राखिएको छ, अति थोरै उज्यालो हुने, पङ्खा मात्र भएको साह्रै सानो सी-क्लासको जेलमा राखिएको र सुत्न र प्रार्थना गर्न एकमात्र गद्दा दिइएको छ,’ ७० वर्षीय नेता खानलाई विशिष्ट व्यक्तिलाई थुन्ने कारागारमा राख्न मागसमेत गरिएको उल्लेख गर्दै युसुफजाईले बताएका छन् ।
झिँगा र किराले विद्रप पारेको कालकोठारीमा नेता खानलाई कोचेको वकिलहरूको भनाइ छ । त्यस्तो वातावरणमा बसेका उनले दासत्व नस्वीकार्ने प्रण पनि गरेका छन् ।
यद्यपि, उनले सजाय भोग्ने तर घुँडा नटेक्ने बताएका छन् । प्रतिकूल परिस्थितिका बाबजुद नेता खान हतोत्साही नभएको वकिलहरूले बताएका छन् ।













