
काठमाडौं— निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसायले निर्माण व्यवसायीले समस्या भोग्नु परेको बताउँदै विरोध प्रदर्शन जारी राखेको छ ।
नेपाल निर्माण व्यवसायीहरूले बिहीबार राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीले आफू टिक्नका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नु परेको बताए ।
उनीहरूले नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भेला भई संसद भवनअगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका थिए । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन माग गरेका छन् ।
उनीहरूले बजेट दिन नसक्ने आयोजना खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिएका छन् । कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटकपटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताए ।
सकरारले निर्माण व्यवसायीहरूलाई देखाएर निर्माण व्यवसायीहरूले काम गरेनन् भन्ने भ्रम मात्रै सिर्जना गरेको आरोप सिंहको थियो । ‘सार्वजनिक खरिद नियमावलीको पटकपटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको छ, निर्माण व्यवसायीहरूलाई निर्माण व्यवसायीहरूले काम गरेनन् भन्ने भ्रम मात्रै सिर्जना गरेको छ,’ उनले भने, ‘वास्तविकता त्यो होइन, हामीले सबैलाई सुसुचित गर्नै पर्छ, राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम नहोस् ।’
व्यवसायीले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गरजस्ता प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।













