News Griha :: न्यूजगृह
तलब माग गर्दै ईसीडी शिक्षकले सुरु गरे धर्ना

काठमाडौं— कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले दश महिनादेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा दुई महिनाको मात्रै तलब पाएको शिक्षकहरूले बताएका छन् । उनीहरूले सोमबारदेखि पालिकामै धर्ना दिएका छन् ।

बालविकास शिक्षक भीम नगरकी अध्यक्ष विन्दु विष्टले वृद्धि गरिएको तलब पटक–पटक माग गर्दा पनि पालिकाले नदिएपछि बाध्य भएर धर्ना दिनु परेको जानकारी दिइन् ।

उनी भन्छिन्,‘अधिकारको लागि धर्नामा बस्न बाध्य छौं । माग पूरा नभएसम्म धर्ना जारी रहन्छ ।’

बालविकास शिक्षक लक्ष्मी पाण्डेयले बालविकास शिक्षकमाथि पालिकाले चरम श्रमशोषण गरेको बताइन् ।

उनले भनिन्,‘पालिकाले वृद्धि भएको हाम्रो पारिश्रमिक दिएको छैन । आफूले काम गरेको पैसा पाउन पनि आन्दोलन गर्नु परेको छ ।’

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०९:३४
Weather Update