News Griha :: न्यूजगृह
बाढीपहिरोबाट हुने क्षति कम गर्न नेपाली सेना सक्रिय

कञ्चनपुर— सुदूरपश्चिम प्रदेशमा भइरहेको वर्षापछि आएको बाढी र डुबानमा जनधनको क्षति न्यूनीकरणका लागि नेपाली सेनाले सक्रियता बढाएको छ ।

सुदूरपश्चिम पृतनाअन्तर्गत तैनाथ गण तथा गुल्मले कैलाली र कञ्चनपुर लगायतका जिल्लामा डुबान क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि वर्षाका कारण भत्किएका सडक र पूर्वाधार निर्माण एवम् मर्मतमा गति दिएको सेनाले जनाएको छ ।

सेनाले दिएको जानकारीअनुसार पृतना कमाण्डबाट खटिएको सैनिक अधिकृतको टोलीले कैलालीको मोहना, कान्द्रा काँडा र पथरिया नदीमा आएको बाढीले भजनी नगरपालिका–८ सुनफाँटा गाउँमा भएको डुबानबाट बुधबार ३५ जनालाई सुरक्षित स्थानमा सारेको छ ।

सो क्षेत्रमा नागरिकको सुरक्षित स्थानमा सार्नका लागि कैलालीको बढैपुरस्थित कालीरक्षा गण (ई) बाट सेनानीले वीरेन्द्र रावतको नेतृत्वमा टोली परिचालन भएको सेनाले जनाएको छ । सो क्रममा भजनी नगरपालिकासितको सहकार्यमा सेनाको टोलीले स्थानीयलाई दैनिक उपभोग्य सामग्री समेत वितरण गरिएको छ ।

उक्त क्षेत्रमा १५० घरधुरी डुबानबाट प्रभावित भएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाली सेनाको श्रीदल गुल्म गुल्म भगतपुर ब्यारेकबाट खटिएको सैनिक टोलीले भीमदत्त नगरपालिकामा वर्षाका कारण स्थानीय टंकप्रसाद भट्टको घर डुबानमा परेकाले घरबाट ५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ ।

सेनाले कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी धाममा स्थानीय खोला फटेर धाम क्षेत्रमा पुर्‍याएको क्षतिग्रस्त क्षेत्रमा सम्बन्धित निकायको आग्रहमा मर्मतसम्भार समेत थालिएको छ । सो कार्यका लागि यहाँको सर्वेश्वर गण र गुरुबक्स गुल्मको टोली परिचालित भएको छ ।

डुबानग्रस्त टीकापुर नगरपालिका–६ भर्तापुरमा समेत स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तर गरिरहेको सेनाले जनाएको छ । यहाँ बाढी र डुबानग्रस्त क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा एवम् क्षति न्यूनीकरणका लागि सेना सक्रिय रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०६:१७
Weather Update