
काठमाडौं— भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मंगलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी उक्त बाढीमा उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ ।
बेइजिङका उपमेयर जिया लिनमाओले पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिए ।
मुख्यतया, गत हप्ता परेको वर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो ।
जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो ।
वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्याएको छ ।
जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र घोषित मृतक संख्यामा वृद्धि हुने सम्भावना देखिएको छ ।
मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ । २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ ।
बेइजिङले प्रभावित जनसंख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपतकालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रूत कदम चालेको उपमेयरले बताए ।













