News Griha :: न्यूजगृह
मनाङ पुग्ने रहर, छैन बाटोको भर

मनाङ— हिमाली जिल्ला मनाङ पुग्ने कसलाई रहर हुँदैन र ? तस्बिर र भिडिओमा देखिएका मनाङमा रहेका सेता हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल, बस्ती, संस्कार, संस्कृति र फाँटैभरी फापर, करु, लटरम्म गोलभेँडाझैँ फलिरहेका स्याउका दाना, अग्ला पहाडका दृश्यले लोभ्याउने गरेको छ । 

स्वर्गीय अनुभूति दिलाउने यहाँको दृश्यले कसलाई लोभ्याउँदैन र ? यिनै प्राकृतिक सुन्दर दृश्यलाई हिमालको काखमा बसेर अवलोकन गरी आफ्नै आँखामा कैद गर्ने सबैको सपना हुन्छ । देश तथा विदेशका विभिन्न भूभागबाट आउने पर्यटकलाई यही स्वर्गीय स्थान मनाङ पुग्न रहर हुन्छ । तर, यही स्वर्गीय आनन्द लिन कैयौँ कठिनाइ पार गर्नुपर्ने हुन्छ । 

यस्तै सपना बोकेर मनाङ आएका धनकुटा भेडेटारका सूर्य राईलाई विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेर एक अञ्जुली पानीले मुख धुने रहर छ । तर, बेँसीसहरबाट हिँडेपछि सास्तीले रहर रहरमै सीमित हुने हो कि भन्ने उनलाई चिन्ता छ । सडकको जोखिम देखेर कतै सपनै तुहाएर फर्किनुपर्ने पो हो कि ? भन्ने उनीमा छुट्टै डर छ । 

राईले भने, ‘घरपरिवार र आफन्त सबै छाडेर आफ्नो सपना साकार पार्न हिँडेको छु, बाटोको अवस्था देखेर सपना पूरा नहुँदै घर फर्किन सकिन्छ कि सकिँदैन भन्ने त्रास बढेको छ ।’  स्वर्गको अनुभूति गर्न सहज हुँदैन, तर त्रास नै त्रासको यात्रा गर्नुपर्ने रहेको उनी बताउँछन् ।

हुन त स्वर्गको अनुभूति गर्न सहज कहाँ हुन्छ र ? मनाङ पुग्नका लागि सडक सञ्जाल पुगेको छ । तर, सहज भने छैन । घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था मनाङ जाने सडकको हो । साँघुरो कच्ची सडक, हरेक पटक जोखिम मोल्नुपर्ने अवस्था छ । ठाउँठाउँमा खसेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ–मनाङ आवतजावत गरिरहेका छन् । मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै डुम्रे–बेँशीसहर–चामे सडक हो । भीरैभीर र मर्स्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा डुम्रे–बेँशीसहर–चामे सडकमा यात्रुले ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छन् ।

manag himtal1691295980.JPG

मनाङवासीलाई यस्तो जोखिम मोल्नुको विकल्प छैन । २१ वर्ष हुँदासम्म पनि सडकको स्तरोन्नति हुन नसक्दा स्थानीय निराश छन् । मनाङवासीसँगै, लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।
    

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:५६
Weather Update