News Griha :: न्यूजगृह
सरकारले गर्‍यो दुई जनाको नागरिकता रद्द

काठमाडौं— सरकारले, वंशजका आधारमा झूटो विवरण पेश गरी लिइएका दुई जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ  ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरी वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवालको नागरिकता रद्द गरिएको बताइन् ।

उनका अनुसार झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिएका सोफिया रुथ भण्डारीको नागरिकतासमेत रद्द गर्ने निर्णय गरिएको छ ।

शर्माले भनिन् ‘गृह मन्त्रालयको प्रस्तावमा अमन चौधरी अग्रवालले झूटो विवरण पेश गरी जिल्ला प्रशासन पर्साबाट २०७७ कात्तिक २५ गते नागरिकता प्राप्त गरेको वंशजको आधारको नेपाली नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने र संलग्नलाई सोही कारबाही गर्ने निर्णय गरेको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोफिया रुथ भण्डारीले लिएको वंशजको नागरिकता पनि मन्त्रिपरिषद्ले रद्द गरेको छ ।’  

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १७:४१
Weather Update