
काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सञ्चारकर्मीहरूसँग उनले सत्तापक्षका सांसदहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताएका हुन् ।
उनले भने, ‘सत्तापक्षका सांसदहरू हामीले बोल्दै गर्दा संसदीय मर्यादाबाहिर जान मिल्छ? प्रतिपक्षले बोल्न पाउने अधिकारमाथि आज सत्तापक्षले संसद्मा कुण्ठित गर्नुभयो । उहाँहरु योजनावद्ध तयारीमा हुनुहुन्छ । अभियोग प्रतिपक्षलाई लगाउने, अरु सबै करणी आफू गर्ने । यो दाउपेचका साथ सरकार र सत्तापक्ष अघि बढ्न सकेन । संसद्लाईद्वन्द्वतर्फ लैजान सरकार तयारी छ । त्यो खेतीमा लागेको छ ।’
बर्तौलाले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको बताए । उनले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरुले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको बताए ।













