News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा पनि एमालेको अवरोध

काठमाडौं— राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेन ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सांसदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरू उठेका थिए ।

एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद् चल्न नदिने बताइन् । यसअघि बुधबार नै बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

एमालेले साउन १० गते यता संघीय संसद्को दुवै सभामा अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:०३
Weather Update