
काठमाडौं— नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।
मन्त्री यादवले शुक्रबार पदबहाली गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।
‘महिलाको अधिकारको लागि बनाउनुपर्ने कानुन, वर्तमान मन्त्रालयका यथास्थितिका समस्यालाई सामूहिक छलफल गरी समाधान गर्छौँ । जनतालाई सुशासनको अनुभूति दिलाउँछौँ,’ उनले भने ।
मन्त्री यादवले यसअघि २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका थिए ।
यादव गत मंसिर ४ को निर्वाचनमा सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
मन्त्री यादवको जन्म वि.सं. २०११ मा सर्लाहीको हरिपूर्वा नगरपालिकामा भएको हो ।













