News Griha :: न्यूजगृह
एमालेले संसद् बैठक अवरुद्ध गर्नुहुन्न : माओवादी सांसद जगप्रसाद शर्मा 

काठमाडौं— सत्तारुढ माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले संसद् बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरेका छन् । 

जनसरोकारका विषयमा छलफल गर्ने थलो संसद्लाई अवरोध गरेर कुनैपनि ढंगले यसको औचित्य पुष्टि गर्न नसक्ने हुनाले एमालेले संसद् अवरोध गर्न नहुने उनको तर्क थियो ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा शर्माले भने, ‘खासगरी सरकारले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी कानुन निर्माण प्रक्रियालगायत अहिले सुन काण्डसम्म आउँदा थुप्रै सबालहरू उजागर भएका छन । वर्तमान सरकारले यसलाई उजागर गर्‍यो । र, बाहिर ल्यायो । छानबिन समितिको माग गरेर संसद् अवरोध गर्नु कुनैपनि कोणबाट हेर्दा, बुझ्दा त्यो औचित्यपूर्ण देखिँदैन । तसर्थ, यो संसद्लाई सुचारु गरौँ । र, अगाडि बढाऔँ ।’ 

उनले सुन काण्ड छानबिनको माग गरेर संसद् अवरुद्ध पार्ने काम गर्नुको कुनै तुक नरहेको समेत पटकपटक दोहोर्‍याए । शर्माले सुन काण्ड, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण वर्तमान सरकारले उजागर गरेपछि राजनीतिक पूर्वाग्रह साँधेर एमालेले संसद् बैठक अवरुद्ध पारिरहेको आरोप समेत लगाए  । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:४६
Weather Update