News Griha :: न्यूजगृह
नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ 

काठमाडौं—  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन् । 

बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धी एक अन्तरक्रियामा उनले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वय गर्ने बताए । तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने गृहमन्त्री श्रेष्ठले स्पष्ट पारे । 

उनले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको  आधारमा नागरिकता पाउनुपर्छ भन्ने कुरा अहिले संविधान र कानूनसँग मेल खाँदैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन । अरु सबै समितिले भनेको व्यवस्था हुन्छ । खाली ऐनलाई सरलीकृत मात्रै गरिएको छ अहिले  । पहिला अंगीकृत नागरिकता लिन निस्सा चाहिन्थ्यो अहिले अहिले स्वघोषणा भए पुग्छ ।’   

गृहमन्त्री श्रेष्ठले ऐनमा नेपाली महिला र विदेशी नागरिकबाट भएका सन्तानले नेपालमै बस्छु भनेमा उसलाई आमाको नामबाट अंगीकृत नागरिकता सरल रुपमा प्रदान गर्ने र त्यसमा लामो समयबाट धेरै छलफल र बहस हुँदै आएकाले समस्या नहुने धारणा राखे ।

त्यस्तै गृहमन्त्री श्रेष्ठले नेपाल नागरिकता ऐन जारी भएपछि ठूलो सङ्ख्यामाजन्मसिद्धको सन्तानले नागरिकता लिनको लागि आवेदन दिएकाले लामो लाइन कुर्नुपर्ने परिस्थिति आएकोप्रति ध्यानाकर्षण भएको बताए । 
सकेसम्म सहज र छोटो समयमा उनीहरूलाई नागरिकता प्रदान गर्न सरकारले पहल गर्ने उनको भनाइ थियो । 

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:४५
Weather Update