News Griha :: न्यूजगृह
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ? 

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ ।

महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति भने देशभर सामान्य बदली रहने छ । कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढीपहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०७:२१
Weather Update