News Griha :: न्यूजगृह
विद्यार्थीलाई जुकाको औषधि

हुम्ला— हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधी खुवाएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा र शिक्षा शाखाको आयोजनामा एक हप्ताभर पालिकाभित्र रहेका १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई जुकाको औषधी खुवाउने कार्य सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए ।

चार वटा माध्यमिक विद्यालय र ११ वटा आधारभूत विद्यालयमा अध्ययनरत ६ वर्षमाथिका आठ सय ८९ छात्रा र सात सय ३४ छात्र गरी एक हजार छ सय २३ जनालाई जुकाको औषधी खुवाइएको हो ।

दश वर्षमाथिका सात सय ५० किशोरीलाई आइरन चक्की तथा फोलिक एसिड वितरण गरिएको स्वास्थ्य संस्थाका प्रमुख ढकालले बताए ।

यो सिजनमा विद्यार्थीलाई जुकाको कारण लाग्ने रोगबाट बचाउन औषधी खुवाइएको हो । बर्खा लागेपछि फोहाेर पानी, काँचा फलफूललगायतको प्रयोगले विद्यार्थीलाई जुकाबाट लाग्ने रोग बढी देखिने र त्यसबाट बचाउन पालिकाभित्र रहेका प्रत्येक विद्यालयमा पुगेर औषधी खुवाइएको ढकालले बताए ।

प्रत्येक ६ महिनामा जुकाको औषधी खानुपर्ने भएकाले पनि विद्यार्थीलाई स्वास्थ्य शाखाको सहयोगमा औषधी खुवाइएको हो । औषधी खुवाउने कार्यक्रममा विद्यार्थीलाई पोषणसम्बन्धी जनचेतना दिइएको थियो । यसका लागि चार जना स्वास्थ्यकर्मी परिचालन भएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २२:०२
Weather Update