
नवलपुर— नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो ।
देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३४ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापन केन्द्रले जनाएको छ ।
नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि जिल्लाको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
नारायणी नदीको बाढीबाट जिल्लाको गैँडाकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकाका नदी तटीय वडा डुबान तथा कटानको जोखिममा रहेका श्रेष्ठको भनाइ छ । स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको श्रेष्ठको भनाइ छ ।













