News Griha :: न्यूजगृह
महावीर पुनले विभूषण लिलामीमा राखेपछि गृहले काट्यो पत्र

काठमाडौं— राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुनले सरकारले दिएको विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले सचेत गराउँदै उनको नाममा पत्र काटेको छ ।

पुनले आफूले पाएको कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामी गर्ने भन्दै सामाजिक सञ्जालमा राखेका थिए । मंगलबार गृह मन्त्रालयको विभूषण तथा सभा समारोह प्रबन्ध शाखाले पुनलाई पत्र काटेर विभूषण लिलामीमा नराख्न आग्रह गरेको हो ।

‘विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ पत्रमा भनिएको छ ।

रद्द गरेसँगै विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाएर सर्वसाधारणको जानकारीका लागि सूचना समेत जारी गर्ने कानूनी व्यवस्था छ । गृहको आग्रहपछि पुनले सामाजिक सञ्जालमा पत्रसहित लेखेका छन्,‘यो चाहिँ बेच्न नपाइने भयो ।’

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १९:२६
Weather Update