News Griha :: न्यूजगृह
एक क्विन्टल सुनबारे गृहमन्त्रीले भने : अनुसन्धान निकायबाट काम नभएन छानबिन समिति गठन गरौँ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनदेखि सरकारको विरुद्धमा उठेका प्रश्नहरूको जवाफ दिन पाउँदा खुसी लागेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले आफूलाई संसदमा बोल्न दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई धन्यवाद दिँदै आफ्नो भनाइ सुरु गरेका थिए ।

संसदमा बोल्दै मन्त्री श्रेष्ठले देशलाई समृद्धिमा लैजानका लागि प्रमुख काम सुशासन भएको बताए । ‘सुशासन, समृद्धि र सामाजिक न्याय देश विकास गर्न पहिलो काम हो,’ उनले भने ।

यस क्रममा उनले तथ्य प्रमाणका आधारमा दोषीलाई कारबाही गर्ने बताउँदै यसबारे प्रश्न नगर्न आग्रह गरे । ‘ललिता निवास जग्गा प्रकरणमा किन अदालतको आदेश पर्खेको भन्नु भएको छ,’ उनले प्रश्न गरे, ‘यसले त अनुसन्धान गर्न थप फराकिलो दायरा दिएको हैन र ?’

यस्तै, उनले पहिलेका सरकारमाथि प्रश्न गर्दै सीआईबीलाई अनुसन्धान गरेर पहिला आफ्नो टेबलमा ल्याएर मात्रै काम गर्न आदेश दिने गरेको थियो र ? भन्दै प्रतिप्रश्न गरे ।

यस क्रममा उनले साउन २ गते राजस्व अनुसन्धान विभागले समातेको एक क्विन्टल सुनबारे जवाफ दिएका थिए । उनले सुन प्रकरण जस्ता घटनाले देशलाई लज्जाबोध बनाएकाले यसबारे सिंगो देश अनुसन्धानमा लाग्ने बताए ।

‘सुन प्रकरणको सन्दर्भमा हाम्रो दुईवटा कार्यभार रहेको छ,’ उनले भने, ‘पहिलो, यस्ता घटनामा लाग्नेहरूलाई हरहालतमा कारबाहीमा ल्याउने हो, दोस्रो यस प्रकारणको घटनाको पुनरावृत्ति भएकाले विमानस्थलको सुरक्षा र व्यवस्थापनमा नयाँ नीति बनाएर लागु गर्नु पर्छ ।’

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा ३३ किलो सुन प्रकरणमा एक तोला पनि पत्ता लगाउन नसकेको बताउँदै अब त्यस्तो हुन नदिने पक्षमा सरकार रहेको बताए ।

‘यो कार्यभार पूरा गर्नका लागि उच्च स्तरीय छानबिन समिति किन नगर्ने भन्ने भएको छ,’ उनले भने, ‘सरकार छानबिन समिति बनाएर काम गरेको हेरियो, राज्यको जुन निकायले अनुसन्धान गर्न सक्छ त्यसलाई नै दिनु पर्ने हैन र ?, त्यहाँबाट भएन भने छानबिन समिति गठन गरौँ ।’

उनले तस्करीलाई छुट दिन नहुने बताउँदै ३५ दिनभित्र सीआईबीले काम गर्न नसकेको अवस्थामा नयाँ शिराबाट अनुसन्धान थाल्ने बताए ।  

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:२४
Weather Update