News Griha :: न्यूजगृह
प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरू

काठमाडौं— संघीय संसद्, संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिको आजको बैठकले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सूचना आह्वान गर्ने निर्णय गरेको छ ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको समिति बैठकले सूचना वा उजुरीकर्ताले पत्रमार्फत वा आफै समिति सचिवालयमा उपस्थिति भई उजुरी दिन सक्ने व्यवस्थासहितको सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । 

तोकिएको समयावधिभित्र उजुरी प्राप्त भएको खण्डमा ससदीय समितिले उनीसँग त्यसबारे जानकारी लिँदै संसदीय सुनुवाइ गर्ने छ । समिति समक्ष उनले प्रधानन्यायाधीश भएको खण्डमा आफूले अघि बढाउने कार्य योजना, अनुभव, अवधारणा र सोच प्रस्तुत गर्ने छन् । 

सुनुवाइ समितिले नाम अनुमोदन गरेको खण्डमा राष्ट्रपतिबाट उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने छ । विं.स. २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा गरेका श्रेष्ठ केही दिनयता कामु प्रधानन्यायाधीशमा कार्यरत छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:३०
Weather Update