News Griha :: न्यूजगृह
पहिले पानी नभएर रोपाइँ रोकियो, अहिले बाढी बस्तीमा पस्दा घरहरू डुबे
फाइत तस्बिर

वीरगञ्ज— अविरल वर्षाका कारण वीरगञ्ज महानगर–३० लालपर्सा र प्रसोतिपुरको एक दर्जन घर डुबानमा परेका छन् । 

स्थानीय भेडाहा खोलाको पानी गाउँमा पस्दा लालपर्सा, प्रसोतिपुरलगायत गाउँका एक दर्जन घर डुबानमा परेको स्थानीयले बताएका छन् । यद्यपि, आज बिहानदेखि पानीको सतह घट्दै गएको छ ।

बस्ती डुबानमा परेपछि प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले वस्तीको स्थलगत निरीक्षण गरेका थिए ।

स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नु पर्ने बताए । 

डुबानको समस्या दीर्घ कालीन रुपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाइ हुनपुगेको भन्दै चाँडै सम्पन्न गराउन लागि परेको महानगर प्रमुख सिंहले जानकारी दिए ।

तत्काललाई पानी निकासा हुने गरी व्यवस्था मिलाउने र डुबानमा परेकाका लागि उचित राहतको व्यवस्था मिलाइने उनको भनाइ छ । भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमासमेत छरिएर आइपुगेको छ ।

८५ प्रतिशत धान रोपाइँ

पर्सामा हालसम्म करिब ८५ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । पर्याप्त नभएपछि वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर किसानले ८५ प्रतिशत जग्गामा धान रोपाइँ गरेको कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साका प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए ।

‘जिल्लाको दक्षिणी भेगका किसान गण्डक सिँचाइ आयोजनाबाट सिँचाइ गरी धान रोपाइँ गरिरहेका छन्,’ प्रमुख कुशवाहाले भने, ‘अन्य भेगका किसान पानी तान्ने मोटर, पम्पसेट जडान गरेर धमाधम धान रोपाइँ गरिरहेका छन् ।’ 

तुलनात्मक रुपमा पर्साको ठोरी, पर्सागढी, बहुदरमाई र जगरनाथपुर गाउँपालिका क्षेत्रमा बढी धान रोपाइँ भएको उनले बताए । 

पर्सामा सिँचाइ सुविधा पुगेको ठाउँमा धमाधम रोपाइँ भइरहे पनि जिल्लाको उत्तरी, पश्चिमी भेगका अन्य कतिपय स्थानमा धान रोपाइँ हुन नसक्दा करिब १५ प्रतिशत खेती योग्य जग्गा बाँझो रहेको प्रमुख कुशवाहाले बताए ।

पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेती योग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । तर, वर्षा नहुँदा अहिलेसम्म ४० हजार ६० हेक्टरमा धान रोपाइँ भएको छ । 

उनका अनुसार साउन महिनाको अन्तिमसम्म शतप्रतिशत जग्गामा धान रोपाइँ हुने अनुमान गरिएको छ । पर्सामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

समयमा पर्याप्त वर्षा नहुनु, किसान ढिलो गरी धानको बेर्ना तयार पार्नु, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृति लगायतका कारणले धान रोपाइमा ढिलाइ भएको प्रमुख कुशवाहाले बताए । अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षामा छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १५:०८
Weather Update