News Griha :: न्यूजगृह

काठमाडौं— संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकको विरोधमा निजी विद्यालयको संगठबनले आन्दोलनको घोषणा गरेका छन् । प्याब्सन, हिसान र नेसनल प्याब्सनले, मंगलाबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रमहरू घोषणा गरेका हुन् ।

शिक्षालाई मर्यादित, व्यवस्थित, प्रविधिमैत्री बनाउँदै आएका निजी विद्यालयहरूको मर्म र योगदानलाई प्रतिकूल असर गर्ने विधेयकहरू समयमै संशोधन गरी निजी लगानीको संरक्षण सम्बद्र्धनको सुनिश्चित्ता हुने लिखित प्रतिबद्धता सरकारको तर्फबाट जारी हुनु पर्ने उनीहरूको माग रहेको छ । नभएमा देशैभर सञ्चालित विद्यालयहरू बन्द गर्ने, सवारी साधनसहित सडकमा प्रदर्शन गर्ने जस्ता आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्याब्सन, हिसान र नेशनल प्याब्सनले संयुक्त पत्रकार सम्मेलनमार्फत भोलि २४ गते पालिका र जिल्ला प्रशासन सम्बन्धित कार्यालय, सम्बन्धित कार्य समिति कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया गर्ने २७ गते आ–आफ्ना संगठनमा समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चित कालिन विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् ।

त्यस्तै, उनीहरूले भदौ १ गते अनिश्चित कालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधानहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम तय गरेका छन् । शिक्षा विधेयकले कम्पनीमार्फत सञ्चालित विद्यालयहरूलाई पाँच वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने अभिप्रायका साथ विधेयक ल्याइएको उनीहरूको आरोप छ ।

आफ्ना सुझावको वेवास्ता गर्दै मनोमानी ढंगले शिक्षा मन्त्रालयले विधेयक मन्त्री परिषद्मा पेस गर्नु दुःखद भएको उनीहरूको भनाइ छ । आफ्नो जिम्मेवारी बिर्सिएर एकलौटी रुपमा मस्यौदा निर्माण गर्नु तथा सोको विषयमा सरोकारवालासँग कुनै छलफल नगरी संसदमा प्रस्तुत गर्ने सरकारको व्यवहार अलोकतान्त्रिक भएको उनीहरूको ठहर छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:५३
Weather Update