News Griha :: न्यूजगृह
दलका नेताहरूले दोहोरो चरित्र सुधार्न आवश्यक छ : सांसद खतिवडा 

काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा गर्ने व्यवहार फरक भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘रिटर्नी माइग्रेंट’ नेपालको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेताहरूको सत्तामा जानुभन्दा पहिले, गएपछि, भोट माग्दा र भोट पाएपछिको व्यवहार फरक हुने गरेको स्वीकार्दै त्यो प्रवृत्ति अन्त्य हुनु पर्ने बताएका हुन् ।

‘हामी सत्तामा जानुभन्दा अगाडि एउटा कुरा गर्छौं, गएपछि अर्को, मत माग्दा एउटा, पाएपछि अर्को त्यो प्रवृत्तिको अन्त्य गर्नु पर्छ, यो संस्थालाई जाति, पार्टी, वर्गको होइन सम्रग युवाको बनाउनु हामी पल पलमा साथ दिन्छौँ,’ उनले भने ।

उनले थपे, ‘हामी पार्टीगत राजनीतिमा मात्रै ध्यान दिने गरेका छौँ, हामीले देशका लागि सोचेनौँ, हामी नेपाल र नेपालीका लागि एक भएर काम गर्ने वातावरण भयो भने अझै नेपालमा केही गर्न सक्छौँ, तर सत्ता र स्वार्थका लागि सबै बिर्सिन्छौँ, जबसम्म देश र जनतालाई हेर्ने प्रवृत्ति हामीमा आउँदैन त्यसबेला देश बन्दैन् ।’

यस्तै, उनले सरकारको नेतृत्व गर्नेले नै देशको हितमा काम गर्न नसकेको आरोप लगाए । ‘यसका लागि हामीले न्याय दृष्टिकोण बनाएनौँ भने अहिले पनि पार्टी र जातिको मात्र राजनीतिक गर्ने हो भने नेपाल समृद्धिको बाटोमा जान सक्दैन्,’ उनले भने, ‘त्यही भएर हामीले पार्टी र जातिभन्दा माथि उठेर काम गर्ने समय आएको छ ।’

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:३५
Weather Update