News Griha :: न्यूजगृह
संसद्को गतिरोध अन्त्य गर्न शीर्ष नेताहरू दुई घण्टादेखि छलफलमा, सहमतिको सम्भावना न्यून

काठमाडौं—  संसद्को जारी गतिरोध अन्त्य गर्न बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल जारी छ । तर सहमति जुट्ने सम्भावना नदेखिएको भन्दै नेताहरू बाहिरिन थालेका छन् ।

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूबीच दुई घण्टादेखि चलेको बैठकमा नेकपा एमालेले अडान नछोडेपछि सहमतिको सम्भावना नदेखिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।  

उनले भने, ‘एमालेले सुन तस्करी प्रकरणमा राज्यका संयन्त्र, प्रहरी प्रशासन केहीपनि होइन् आयोग नै बन्नु पर्छ भनेपछि कसरी सहमति हुन्छ । मैले चै सम्भावना नदेखेपछि बाहिरिएको छु । अरु साथीहरू नेताहरू पनि बाहिरिन थाल्नु भएको छ ।’  

बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी छन् । बैठकबाट कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक लेखक बाहिरिएका छन् ।

अहिले प्रधानमन्त्री, सभामुखसहित एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छलफलमा छन् । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।

सोमबार सिंहदरबार र नयाँ बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि मंगलबार पुनः बालुवाटारमा छलफल भएको हो । प्रतिनिधि सभा बैठक मंगलबार ३ बजेका लागि बोलाइएको छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:५७
Weather Update