News Griha :: न्यूजगृह
सरकारले मूलभूत रुपमा पूर्णता पायो, अब देशले गति लिन्छ: प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणले गति लिने बताएका छन् । 

रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अहिले आर्थिक रुपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी समेत गरे ।

आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको उनले बताए । उनले  अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको समेत बताए । 

तीन महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गर्दै प्रचण्डले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए । 'अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आज मात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मूलभूत रुपमा सरकार पूर्ण भएको छ । अब

यसले गति लिनुपर्छ', उनले भने, 'हो देश अहिले आर्थिक रुपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ । मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु ।'

सुशासन कायम गर्नका लागि लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन्स लगायत अन्य कुराको

लाइनलाई घटाउने काम भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, 'सुधार भएको मसँग अनुभव छ यो १०० दिनमा र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ । अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको छ, करिब गुणात्मक, राजश्व संकलनमा धेरै सुधार भएको छ करिब गुणात्मक, विदेशी मुद्रा सञ्चितिमा त हामी निकै राम्रो स्थितिमा आइसकेका छौँ ।'

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था बरबाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको समेत बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:५८
Weather Update