
इलाम— जिल्लाको सूर्योदय नगरपालिका–२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनका अनुसार घटनाअगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमतीको टाउको पछाडिको भाग (घुच्चुक)मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ । राति करिब ९ बजे घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए । घटनापछि श्रीमान् फरार रहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
हत्या गरिएकी कान्छी श्रीमती भनिएपछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोज तलास भइरहेको बताइएको छ । कानुनी प्रक्रियाअनुसार शव परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।













