काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् ।
अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनः निर्माण सुरु गर्न मातहतका निकायलाई उनले निर्देशन दिए ।
सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ । देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न मन्त्री ज्वालाले निर्देशन दिए ।
अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ । सडक भासिएपछि आवत–जावत पूर्ण रुपमा बन्द भएको छ ।
मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनः निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिए ।













