
काठमाडौं— अविरल वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्याएको छ ।
नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुगेको हो । धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुंगा र बालुवाले पुरिएका छन् ।
बाढीले धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धनमा क्षति पुर्याएको छ । धाम विकास समितिका पदमराज जोशीले राति नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुगेको जानकारी दिए ।
धाममा बस्दै आएका बटुक खगेन्द्र बिनाडीले बेलुकी आरती गर्ने समयमा नदीमा अचानक बाढी आउँदा क्षति पुगेको बताए । बाढीपछि जोखिममा परेका बटुक र सन्त महन्तलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो ।
बाढीसँगै गोदावरी नदीमाथि धातु र काठ प्रयोग गरी झण्डै छ दशकअघि बनेको पुल छेउमा कटान गरेको छ । यो पुल जीर्ण बन्दै गएपछि केही वर्षअघि सोही ठाउँमा पक्की पुल निर्माण गरिएको थियो ।
सडक मार्गबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्यद्वार र प्रदेशको प्रमुख तीर्थ स्थलका रूपमा रहेको यो धाम क्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ प्रत्येक वर्ष माघ १ गते लाग्ने मकर संक्रान्ति मेलामा नेपाल तथा भारतका भक्तजन स्नान र पूजा गर्न पुग्ने गर्दछन् ।













