News Griha :: न्यूजगृह
संसद अवरोध हटाउन पुनः शीर्ष तीन दलको बैठक बस्दै 

काठमाडौं— प्रतिनिधि सभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू आज पुनः छलफलमा बस्ने भएका छन् ।

सोमबार सभामुखको नेतृत्वमा छुट्टा–छुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुवै बैठक निर्णयमा पुग्न नसक्दा मंगलबार बिहान १० बजेलाई पुनः बैठक बोलाइएको थियो ।

सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा एमालेको अडानलाई लिएर हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसकेको हो । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थप छलफलका लागि बैठक बोलाइएको छ ।

मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक बसेको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत छलफलमा सहभागि बन्ने छन् ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि गत १२ साउनदेखि नै संसद अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १०:२४
Weather Update