
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीको हरिहरपुर गढी क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ । महाशाखाले देशका १८ केन्द्रमा भारी वर्षा मापन भएको जानकारी दिएको छ ।
बाँकेमा पछिल्लो २४ घण्टामा तीन सय मिलिमिटर वर्षा भएको छ । बर्दियाको रामभपुर क्षेत्रमा १९२.६ मिलिमिटर, दाङमा पछिल्लो २४ घण्टामा १७४ मिलिमिटर वर्षा मापन गरिएको छ । मकवानपुरको चिसापानी क्षेत्रमा पछिल्लो २४ घण्टामा १८५.२ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी बाराको अमलेखगञ्ज क्षेत्रमा पछिल्लो २४ घण्टामा २९०.२, दाङकै लालमटिया क्षेत्रमा १५०.८, सिन्धुलीको मरिनमा १६६.२, बाराको निजगढ क्षेत्रमा, १९०, कलैयामा १५४.२, सर्लाहीको पत्त्थरकोटमा १२२, सर्लाहीकै कर्मयामा १३७, धनुषामा २३३, बर्दियाको औरही खोलामा १८०, बर्दियाकै स्यानो श्री चेपाङमा १६५.८,चितवनको त्रिशूली काली खोलामा १०५.६ मिलिमिटर वर्षा भएको महाशाखाले मंगलबार जनाएको छ ।
भारी वर्षाका कारण बाढीपहिरोको उच्च जोखिम रहेकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।













