
काठमाडौं— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मिटर ब्याजबाट पीडित जनताको आवाज सुन्नुपर्ने बताएका छन् । शुुक्रबार रिपोर्टस क्लब नेपालको रजत महोत्सवको अवसरमा काठमाडौंमा आयोजीत समारोहमा बोल्दै उनले सरकारले पूर्णता भएको भन्दै सो कुरा बताएका हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले मिटर ब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए । राज्यले उनीहरूलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उनको भनाई थियो ।
अध्यक्ष यादवले ग्रामीण भेगका जनताका लागि सानोतिना कारोबार गर्नका लागि ऋण दिने व्यवस्थालाई सहज हुने गरी बैंक तथा वित्तीय संस्थाहरूको व्यवस्था गर्नुपर्ने खाँचो समेत औँल्याए । उनले भने, 'आज सरकारले केही बाँकी भए पनि पूर्णता पाएको छ । र, अव सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार्ने, जनतालाई राहत पुर्याउनेतर्फ केन्द्रित हुनुपर्दछ', उनले भने 'अहिले काठमाडौंमा मिटर ब्याजीबाट आक्रान्त जनताहरू १०/१२ देखि मधेसबाट हिँडेर काठमाडौं आइपुगेका र काठमाडौंमा विभिन्न ठाउँहरूमा प्रदर्शन भइरहेको छ । सरकारले मिटर ब्याजबाट पीडित भएका जनताहरूको आवाज सुन्नुपर्छ । बुझ्नु पर्छ । र, समाधानको बाटो खोज्नै पर्छ । राज्यले यसको दायित्व लिनु पर्दछ ।'
ग्रामीण भेगका जनताहरू सानोतिनो कारोबार वा लेनदेन वा खर्चको आवश्यकता परेको बेलामा वित्तीय संस्था वा त्यस खालका संस्थाहरूले सहज रूपमा ऋण उपलब्ध गराउन नसक्दा मिटर ब्याज लिनुपर्ने बाध्यता उत्पन्न भएको भन्दै उनले यसको पनि समाधानको उपाय खोज्नुपर्ने बताए । उनले भने, 'सहज रूपमा गाउँका जनतालाई सानोतिनो कारोबार गर्न राज्यको पहुँच हुनु पर्दछ । त्यस किसिमका संस्थाहरूको विकास गर्न आवश्यक छ ।'
यादवले संविधान अनुसार सबैलाई अवसर दिने काममा पनि सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड समेत दिए ।













