भीमदत्त राजमार्ग अवरुद्ध,पहिरो पन्छ्याउने काम जारी

धनगढी— कैलालीमा पहिरोले सडक अवरुद्ध भएको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सोमबार राति पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पहिरोका कारण राजमार्ग अवरुद्ध भएको जानकारी दिएको छ ।
सुदूरपश्चिम पहाडी जिल्लाबाट छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् भने कैलाली र कञ्चनपुरबाट छुटेका सवारीसाधन पनि बाटोमै छन् ।
सवारीसाधन बाटोमै रोकिएपछि गन्तव्यका लागि हिँडेका यात्रु बाटोमै अलपत्र परेका छन् । जेसीबीको प्रयोग गरेर पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ०७:४०













