News Griha :: न्यूजगृह
आज दिनभर भारी वर्षाको पूर्वानुमान

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण वर्षा भएको जनाएको छ ।

महाशाखाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको जानकारी दिएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने बताउँदै महाशाखाले कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस र बाग्मती प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै तथा मधेस तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०७:१६
Weather Update