News Griha :: न्यूजगृह
नवनियुक्त मन्त्रीले लिए शपथ, पाँच नेता बने पहिलो पटक मन्त्री
तस्बिरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालय

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएपछि प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । तर सातौंपटक मन्त्रीपरिषद् विस्तार गरेपनि मन्त्रीपरिषद्ले पूर्णता भने पाउन सकेको छैन । 

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । शितल निवासमा आयोजीत एक समारोहका बिच राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मन्त्री नियुक्त भएका नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् । 

जसअनुसार दश दलीय सत्ता गठबन्धनको पहिलो दल कांग्रेसको सिफारिसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् भने प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । त्यसैगरी रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति बनेका छन् भने सीता गुरुङ सहरी विकासमन्त्री भएकी छन् ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । त्यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

Mantri Sapath_Sital Niwas1680260102.png

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर गरी गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री बनेका छन् भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् ।

यस्तै नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

यी हुन् पहिलो पटक मन्त्री बन्ने पाँच अनुहार

प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्‌मा पहिलो पटक मन्त्री बनेका पाँच अनुहार नयाँ हुन् । जो पहिलो पटक मन्त्री बनेका हुन् । जसमा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्री बनेका छन् । नेकपा एसबाटै प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । उनी कर्णाली प्रदेशको अर्थमन्त्री बनेको भएपनि केन्द्र सरकारमा भने पहिलो पटक मन्त्री बनेका हुन् ।

कांग्रेसका रमेश रिजाल र सीता गुरुङ पनि पहिलो पटक मन्त्री बनेका छन् । रिजाल उद्योगमन्त्री र गुरुङ शहरी विकास मन्त्री बनेकी छिन् ।  यसअघि २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गुरुङ राज्यमन्त्री बनेकी थिइन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री बनेकी छिन् । उनी पहिलो पटक मन्त्री बनेकी हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:३८
Weather Update