
काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गणतन्त्र ल्याए पनि जनतालाई साथ दिन नसकेको बताएका छन् ।
सोमबार काठमाडाैंमा आयोजित ‘भू—राजनीति र युवा विद्यार्थीको दायित्व’ विषयक नयाँ पुस्ताको खुला बहस कार्यक्रममा डा.भट्टराईले देश बलियो नबने गणतन्त्र र राष्ट्रियता केही पनि नरहने बताए ।
उनले भने,‘लोकतन्त्र गणतन्त्र त ल्याइयो तर जनतालाई साथ दिन सकिएन । रोजगारी दिन सकिएन । आर्थिक विकास र समृद्धि भएन । हिमाल, पहाड र तराईका मानिसलाई जोड्ने काम भएन । आर्थिक विकास र समृद्धिले नयाँ पुस्तालाई सपना पूरा गर्न सकिन्छ भन्ने देखाउन सकिएन भने देश बलियो रहँदैन । यसले न गणतन्त्र रहन्छ न राष्ट्रियता रहन्छ ।’
डा.भट्टराईले देश छोडेर विदेश जाने युवाको लहर डरलाग्दो रहेको बताए । यस्तो बेला राजनीतिको प्रश्न गम्भीर भएर आउने पनि उनले बताए ।













