
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने स्पष्ट पारेका छन् ।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले कोषमा लामाको नियुक्तिले गलत सन्देश दिएको बताए ।
‘म यो विषयमा प्रष्ट विमति राख्न चाहन्छु । मैले रक्षामन्त्री र कानुनमन्त्रीसँग सम्पर्क गरेर ध्यानाकर्षण गराएको छु । यो निर्णय सरकारको निर्णय हो । यो निर्णयको स्वामित्व नेपाली कांग्रेस बोक्दैन’, उनले भने ।
गौतम बुद्धको जन्मथलोमा नेतृत्व गर्ने व्यक्ति नियुक्तिमा सरकार गम्भीर हुन नसकेको उनले बताए । ‘संसार भरिका मानिसहरू नेपालतिर फर्केर श्रद्धा गर्छन् । त्यो माटोमा शीर एकपटक झुकाउन पाउँदैगर्दा जीवन नै धन्य भयो भन्नेखालको महसुस गर्छन्,’ शर्माले भने ।













