
काठमाडौं— लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनित भएका डा. ल्हारकाल लामाले आफूलाई योग्य ठानेर सरकारले जिम्मेवारी प्रदान गरेको बताएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले आफू बौद्धको उपदेशबाट एक इञ्च दायाँबायाँ नहिँडेको र आफ्नो जीवन दर्शन नै त्यही भएको बताए । तर, उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको आफ्नो नियुक्ति पछि केही सञ्चार माध्यमले आफूमाथि गम्भीर लाञ्छना लगाएको गुनासो गरे ।
‘विगत केही वर्षयता जब–जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ, त्यही बेला मविरुद्ध यस्ता लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन्, तिनीहरू एउटै जमात छन्,’ उनले भने, ‘उनीहरूले लगाएका अभियोगहरूको अदालती परीक्षणमा समेत मैले सधैं सफाई पाएको छु, तर जब उनीहरूको स्वार्थमा धक्का लाग्छ, तब मविरुद्ध समाचारका खेती हुने गरेका छन्, यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो ।’
संविधान सभा सदस्य, व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला अन्तर्राष्ट्रिय फोरमहरूमा आफूले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोलेको उनको भनाइ छ ।
उपाध्यक्ष लामाले थपे, ‘म हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिनु, मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिन, कहिले नागरिकताको प्रश्न उठाए, कहिले सम्पत्ति शुद्धीकरणको, कहिले हात हतियारको त कहिले ठगीको, तर ती सबै मविरुद्ध र मैले अबलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए, सम्मानित अदालतबाट पुष्टि भइसकेका छन ।’
लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर भएको तर आफ्नो लागि गहन जिम्मेवारी भएको लामाको भनाइ थियो ।