
काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी स्कुल विभाग झापाको आयोजनमा शुक्रबारदेखि भद्रपुरमा सुरु भएको दुई दिने 'अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा बोल्दै अध्यक्ष नेपालले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । 'देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ', उनले भने, 'त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।'
मुलुकको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको चर्चा गर्दै उनले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिए । पुराना पुस्ताबाट अब युवापुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै युवापुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।
उनले पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई सुझाव दिए । नेकपा एस झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिएका थियो ।
शनिबार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।













