
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को समयमा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको बताए ।
उनले मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको जानकारी दिँदै सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको कुरामा जोड दिए ।
मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै डेंगुका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिए ।
उनले प्रदेशमा लम्पी स्किनबाट छ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपाया प्रभावित भएकाले भ्याक्सिनले मद्दत गर्ने भन्दै प्रदेशमा राजनीतिक स्थिरताका लागि सरकारको स्थायित्व हुनु पर्ने बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन सचिव सुरेश राउतले विपद् व्यवस्थापनमा मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको चर्चा गरे । सो अवसरमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रमुख अमीर मादेन र उपप्रमुख भीमादेवी ओझालाई एक थान दमकल र एक थान पिकअप भ्यान मुख्यमन्त्री थापाले हस्तान्तरण गरे ।
दमकलको मूल्य ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य ३७ लाख ५० हजार रहेको बताइएको छ ।













