News Griha :: न्यूजगृह
उत्तराखण्ड पहिरोमा बेपत्ता खोज्न कुकुर परिचालन
सांकेतिक तस्बिर

काठमाडौं— चार दिनअघि भारतको उत्तरा खण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । उक्त ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो । 

यस क्रममा कालिकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो । कालिकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो । 

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए ।

‘एघार नेपाली नागरिक पहिरोमा बेपत्ता भएको यकिन भएको छ, दुई जनाबारे आशंका मात्रै गरिएको छ,’ उनले भने, ‘खोजी कार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिम प्राप्त कुुकुरसमेत परिचालन गरेको छ ।’

दूतावासले भारतीय पक्षसँग खोजीका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजी कार्य तीव्र रुपमा भइरहेको जानकारी दिए । लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ ।

बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्र मन्त्री एनपी साउदले उत्तरा खण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए ।

उक्त क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक घोडा चालक, होटल व्यवसाय तथा मजदुरी गरी जिविका चलाउँदै आएका छन् । बेपत्ता भएकाहरू सबै जुम्ला घर भएको रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:००
Weather Update