News Griha :: न्यूजगृह
संसदीय समिति सभापतिको भागबण्डा मिलेको बैठकमा संसद खुलाउन सहमति जुटेन

काठमाडौं— गत १० गतेदेखि अवरुद्ध भएको प्रतिनिधि सभा बैठकको गतिरोध हटाउन बसेको शीर्ष नेताहरूको छलफल निष्कर्षविहीन भएको छ । 

सभामुख देवराज घिमिरेले सोमबार प्रमुख तीन दलका शीर्ष नेता र सचेतकलाई आह्वान गरेसँगै बैठक सुरु भएको थियो । बैठकमा कुनै सहमति नभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

नेताहरूबीच सहमति जुट्न नसकेपछि १ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर ४ बजेसम्म स्थगित गरिएको छ । 

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरूद्ध गर्दै आएको छ ।

यसैबीच, सोही बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको छ । बैठकमा सहभागी नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ ।

भागबण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कुनै समितिको जिम्मेवारी दिइएको छैन ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १४:५३
Weather Update