News Griha :: न्यूजगृह
संसदीय समितिमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपा समितिबाट ‘आउट’

काठमाडौं— संसदमा प्रतिनिधित्व गर्ने दलहरूले संसदीय समितिको भागबण्डा मिलाएका छन् ।

भागबण्डामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कुनै पनि समितिको जिम्मेवारी दिइएको छैन । सोमबार सिंहदरबारमा बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ ।

दलहरूबीचको सहमतिअुनसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाइ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ । 

यस्तै, एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व गर्ने छ । 

माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समिति तथा नेकपा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व गर्ने भएको छ । 

संसदीय समितिमा भएको भागबण्डालाई लिएर रास्वपा र राप्रपाले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । राप्रपाका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले राप्रपाले एउटा समिति पाउने पर्ने र पाउनेमा आफूहरू अझै आशावादी भएको बताए ।

रास्वपा र राप्रपालाई समितिको नेतृत्व दिन नसकिएको हो । संसदमा रास्वपाका २० र राप्रपाका १४ सांसद छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १४:१०
Weather Update