
काठमाडौं— जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।
१० दलीय सत्ता गठबन्धन बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गरिँदा जनमतलाई उद्योग मन्त्रालय दिइने भनिए पनि पछि खानेपानीमै फिर्ता गरिएकाले राजीनामा दिनुपरेको जनमत पार्टी सरकारबाट बाहिरिएको हो । जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग्दै आएको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नू, पछि मिलाउँछु भनेपछि जनमत सरकारबाटै बाहिरिएको हो ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि जनमतलाई उद्योग मन्त्रालय दिने भनिएको थियो । तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेपछि मन्त्री खानले राजीनामा दिएका हुन् । जनमतलाई दिने भनिएको उद्योग मन्त्रालय कांग्रेसको कोटामा पुगेको छ ।













