
रामेछाप— लम्पी स्किन रोगका कारण रामेछापको शैलुङमा ४२ वटा चौँरी मरेका छन् । दोरम्बा शैलुङ गाउँपालिकाको डडुवा र गौश्वाराको जंगलमा रहेका चौँरी गोठका अधिकांश चौँरी मरेको राष्ट्रिय याक तथा चौँरी किसान महासंघ नेपालका महासचिव दावासंबु शेर्पाले बताए ।
जंगलमा रहेको चौँरी गोठमा समेत लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको कारण अधिकांश चौँरी बिरामी परेको शेर्पाले बताए । बिरामीमध्ये ४२ वटा चौँरी मरिसकेका उनको भनाइ छ ।
शैलुङमा अहिले चौँरीका १५ वटा गोठ छन् । तीमध्ये १४ वटा रामेछापका किसानका छन् भने एउटा गोठ दोलखाका किसानको छ । ती गोठमा करिब पाँच सय चौँरी रहेका शेर्पाले बताए ।
मुख्य दूध दिने सिजनमा चौँरी बिरामी परेर धमाधम मर्न लागेपछि चौरीपालक किसानहरू चिन्तित भएका छन् । रोग लागेपछि दूध सुक्ने भएकाले यस वर्ष किसानहरूको आम्दानीमा गिरावट हुने शेर्पाको भनाइ छ ।
उनले भने, ‘रोग लागेपछि दूध ठप्पै हुँदो रहेछ, मर्ने त मरिसके, बाँचेका चौँरीको पनि दूध सुक्दा किसानले ठूलो क्षति व्यहोर्नु परेको छ ।’
चौँरी बिरामी पर्दा किसानले प्राविधिक र औषधि पाएका छैनन् । गाउँपालिकामा पटक पटक अनुरोध गर्दा पनि समयमै खोप नलाइदिएको कारण किसानले क्षति बेहोर्नु परेको शेर्पाले बताए । एउटै गोठमा पालेका पाँच वटासम्म चौँरी मरेका शेर्पाको भनाइ छ ।
शैलुङका फूर्वा तामाङको पालेका पाँच वटा चौँरी मरेको उनले जानकारी दिए । एउटा चौँरीको मूल्य एक लाख रुपैयाँसम्म पर्दछ । लम्पी स्किन रोगका कारण रामेछापमा झण्डै सात सय पशु मरिसकेका छन् । जिल्लामा ३० हजार बढी पशु रोगबाट सङ्क्रमित छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको सम्पर्क कार्यालय रामेछापका प्रमुख प्रकाश थापाका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा पशुमा सङ्क्रमण फैलिएको छ ।













