
काठमाडौं— सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सकिएको छ । सोमबार बिहान बसेको बैठकमा संघीय संसदको अवरोध खुलाउन जोड दिने निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा संघीय संसद सञ्चालन गर्नका लागि सत्ता पक्ष र प्रतिपक्षबीच छलफल हुनु पर्नेबारे छलफल भएको बताए ।
‘सदन सुचारू गर्नका लागि सत्ता पक्षको मात्र होइन्, समग्र जनताको भावनालाई समेटेर सुशासन, सम्वृद्धि र सामाजिक न्यायसहितको संघीय संसदको भूमिकालाई थप विस्तार गर्नेबारे बैठकमा छलफल भयो,’ उनले भने । उनले संसद सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरूसहित छलफल गरी ठोस निष्कर्ष निकाल्ने बताए ।
यस्तै, बैठकमा एक क्विन्टल सुन प्रकरणबारे पनि छलफल भएको प्रमुख सचेतक पाण्डेले जानकारी दिए । ‘हामीलाई प्रधानमन्त्री र उपप्रधानमन्त्रीले सुशासनका जति पनि विषयमा अन्त्यसम्म जान्छौँ भन्नुभयो, कोही पनि निर्दोष पर्दैनन्, कोही पनि दोषी छाडिदैन् भन्नेबारे जानकारी दिनु भयो,’ उनले भने ।
यसैगरी, उनले ललिता निवास जग्गा प्रकरण मात्र नभएर देशैभरिका सरकारी जग्गालाई कीर्ते गरी व्यक्तिको नाममा लैजाने गैर कानूनी कामलाई सुशासन अन्त्य गर्नेबारे छलफल भएको बताए ।













