
काठमाडौं— संघीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा बोलाएका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले आग्रह गर्ने उनको सचिवालयले जनाएको छ ।
सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्ङसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बैठकमा बोलाएका हुन् । यस्तै, तीनै पार्टीको प्रमुख सचेतक वा सचेतकलाई बोलाएका छन् ।
गत साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएर नियन्त्रणमा लिएको सुन काण्डबारे उच्च स्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।
बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएकाले उक्त समयअगाडि सहमतिको पहल गर्न लागिएको हो । निकासका लागि सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुई पटक फोन संवाद गरेका थिए । प्रमुख सचेतक र सचेतकसँग विभिन्न चरणमा छलफल गरेका थिए ।













