
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एसलगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन ।
गठबन्धन पहिलो दल कांग्रेसको सिफारिसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् भने प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । त्यसैगरी रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति बनेका छन् भने सीता गुरुङ सहरी विकासमन्त्री भएकी छन् ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । त्यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर गरी गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री बनेका छन् भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् ।
यस्तै नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।
खानेपानीमन्त्री खानले दिए राजीनामा
यसैबिच जनमत पार्टीबाट खानेपानीमन्त्री रहेका अब्दुल खानले भने राजीनामा दिएका छन् । उनले मन्त्रीपरिषद् बिस्तारमा असन्तुष्टि जनाउँदै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएका हुन् ।
जनमत पार्टीले उद्योग मन्त्रालय मागेपनि आफूहरूलाई बेवास्ता गरिएको भन्दै मन्त्री खानले राजीनामा दिएका हुन् ।














