
काठमाडौं— प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इतिहासमा कहिल्यै नमर्ने प्रतिविद्धताका साथ केही ठुला र नयाँ काम गर्ने योजना आफूले बनाइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो कुरा बताएका हुन् । आफूले सरकारको नेतृत्व लिएपछि सुशासन, सामाजिक न्याय, विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सुरुवात गरेको दाबी गर्दै उनले अव इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रीपरिषद्ले पूर्णता पाउने र त्यसपछि सरकारको ध्यान देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रेकर्ड बनाएर जानुपर्छ भन्नेमा रहेको पनि दोहोर्याए । त्यसका लागि इमानदार भएर सरकारलाई सहयोग गर्न पनि निजामती कर्मचारीहरूलाई निर्देशन दिँदै उनले अहिले पनि परिवर्तनका विरुद्ध विभिन्न खालको षडयन्त्र भइरहेको उल्लेख गर्दै सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए । 'अब यो पटक सरकारको नेतृत्व विशेष परिस्थितिमा प्राप्त भएको तपाईँहरूले महसुस गर्नु भएकै होला । र, गएको ९७ दिन करिब भयो आज । मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको छ । यो बीचमा भए/गरेका कामहरू सबभन्दा नजिकबाट देख्नु भएकै छ । मैले अहिले त्यसको व्याख्या गर्न सम्भव छैन', उनले भने, 'एकातिर सुशासनको दृष्टिकोणले, सामाजिक न्यायको दृष्टिकोणले र विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही रेकर्डहरु बनाउने कोसिस भइराखेको छ । मलाई अहिले त्यसको फेहरिस्त बताउने समय छैन । तर हामीले केही नयाँ सुरुवात पक्कै गरेका छौं ।'
इतिहासमा कहिल्यै नमर्ने कामको योजना बनाइरहेको भन्दै उनले सरकारले पूर्णता प्राप्त गरेपछि कामलाई अगाडि बढाइने उनले बताए । 'र, केही ठुला र नयाँ काम जो इतिहासमा कहिल्यै नमर्ने काम गर्ने प्रतिविद्धताका साथ मैले योजना बनाउँदै छु । आज सरकारले पूर्णता प्राप्त गर्दै छ । हामी तीन बजे शपथ गरिसकेपछि हाम्रो ध्यान अव यो देशमा आर्थिक समृद्धिको दृष्टिकोणले, सुशासनको दृष्टिकोणले र सामाजिक न्यायको दृष्टिकोणले केही ऐतिहासिक रिकर्ड बनाएर जानुपर्छ भन्नेमा म प्रतिबद्ध छु', उनले भने, 'तपाई कर्मचारी साथीहरूको यस सन्दर्भमा ठुलो सहयोगको मैले अपेक्षा गरेको छु । तपाईंहरुको सहयोग, तपाईंहरुको फिडब्याक निरन्तर चाहिन्छ । तपाईँहरूले जे अनुभव गर्नु भएको छ । कर्मचारीको हैसियतमा । तपाईंहरुको इमानदार सहयोग भयो भने नयाँ रिकर्ड बनाउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु । मैले अहिले धेरै भन्न सम्भव छैन ।'
प्रधानमन्त्री प्रचण्डले पार्टी वा पार्टीका संगठनहरुको नेतृत्व टिके प्रथाबाट चयन गर्दा फाइदा नभएको स्वीकार गरे । उनले अव पार्टीको पनि राष्ट्रिय महाधिवेशन छिट्टै गर्ने र सहमतिमा नभए नेतृत्व चयनका लागि निर्वाचनमा जान उपयुक्त हुने देखिएको पनि बताए ।
प्रधानमन्त्री दाहालले सहमतिमा नभए नेतृत्व चयनको काम प्रतिस्पर्धाबाट गर्नु वैज्ञानिक हुने देखिएको भन्दै सोही अनुसार नेतृत्व चयन गर्न पार्टी मातहतका संगठनहरुलाई सचेत गराए । 'मैले प्राय संगठनहरुको नेतृत्वको कुरा गर्दा भए सहमति, नभए निर्वाचन पनि भन्ने गरिएको छ । सहमति भएन भने जब्बर जस्ती टिको लगाउने प्रथाले हामीलाई फाइदा गरेको छैन । बरु स्वस्थ प्रतिस्पर्धाबाट भयो भने केही पनि बिग्रँदैन । हामीले पार्टीमा पनि अव छिट्टै अधिवेशनतिर जाँदैछौं', उनले भने, 'त्यो अधिवेशनमा पनि हामीले सोचेका छौ कि हामी लोकतान्त्रिक भनौँ वा डेमोक्रयाटिक प्रतिस्पर्धाबाट नै नेतृत्व चयन गर्नु नै बढी वैज्ञानिक हुने देखियो । अहिले हामी जुन राजनीतिमा छौं । जुन परिस्थितिमा छौं । त्यो परिस्थितिमा प्रतिस्पर्धाको बाटो भन्दा सहज बाटो अरु देखिएको छैन । सहमतिबाट भयो भने सो मच दि ब्रेटर । सहमति, सहकार्यबाट हुने कुरालाई इन्कार गर्ने कुरा भएन । भएन भने सरल बाटो भनेको निर्वाचन नै हो ।'
उनले नेपालको राजनीतिक परिवर्तनमा कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकार उनीहरूको ट्रेड युनियनको पक्षमा रहेको पनि स्पष्ट पारे । अहिले पनि मुलुकमा कर्मचारी ट्रेड युनियनको आवश्यकता छ कि छैन ? भन्ने बारे बहस जारी रहेको र आफू भने त्यसको पक्षमा रहेको उनको भनाई थियो ।













