काठमाडौं— अस्पतालमा बिरामी भेट्न होस् या कसैको घरमा कोसेली लिएर जाँदा प्याकेटको ‘फ्रुट जुस’ अनिवार्य जस्तै भइसक्यो ।
प्याकेजिङ ‘फ्लेवर्ड ड्रिंक्स र कार्बोनेटेड सफ्ट ड्रिंक्स’ नेपाली समाजमा एउटा संस्कारको रुपमा विकास भइसकेको छ । नेपाली समाजमा भोजभतेर, पार्टी, जमघटमा पनि रियल जुस, पेप्सी, कोकाकोला जस्ता ‘फ्लेवड तथा कार्बोनेटेड सफ्ट ड्रिंक्स’ राख्नै पर्ने संस्कृतिको विकास भइरहेको छ ।
विशेषगरि उत्पादक कम्पनीले पनि यस्ता पेय पदार्थ स्वास्थ्यका लागि ‘अति उपयुक्त’ भन्दै प्रचारप्रसार गर्ने गर्छन् । उपभोक्ताले पनि उत्पादकको प्रचार सामग्री हेरेर त्यहीँ कुरा पत्याइरहेका छन् । भावना र संस्कारसँग जोड्दै यस्ता पेय पदार्थ स्वस्थकर भएको दाबी गर्दै कम्पनीले जताततै गरेको प्रचार सामग्रीसँग उपभोक्ता झुक्किएका हुन् ।
यसरी उपभोक्तालाई झुक्याएर उत्पादकले उनीहरूलाई विष सेवन गर्न बाध्य पारिर हेका छन् । चिकित्सकका अनुसार यस्ता पेय पदार्थ मिठो विष हुन् । ‘हामी नेपाली हौँ नी त । हामीले हाम्रा आफन्तलाई अमृत खुवाएर कहाँ हुन्छ त ? विष पो खुवाउनुपर्छ त’, काठमाडौं मैतीदेवीमा एफडीएच क्लिनिक सञ्चालन गर्दै आएका डा. दिलजान मन्सुर (कर्ट)व्यंग्य गर्छन्, ‘शरीरमा दीर्घरोग बढ्नुको मुख्य कारण यस्तै खानेकुराहरूको बढि प्रयोग गर्नु हो ।’
स्वस्थकर भनेर गर्मी याममा अत्यधिक उपभोग हुने ‘फ्लेवर्ड जुस’ र ‘कार्बोनेटेड सफ्ट ड्रिंक्स’ खान नहुने सबैभन्दा प्रमुख कारण हो– यसमा प्रयोग हुने चिनीको मात्रा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार एक वयस्क व्यक्तिले दिनमा ४ चम्चा मात्र चिनी खानु उपयुक्त हुन्छ । अझै अमेरिकन हार्ट एशोसियसनको रिपोर्ट अनुसार प्राकृतिक स्रोतबाट पाइने गुलियो बाहेक थप चिनी मानव शरीरको लागि आवश्यक छैन ।
‘प्याकेज्डफ्रुटजुस’मा फलफूलको प्रयोग हुने भएपनि त्यसलाई लामो समयसम्म जोगाएर राख्नको लागि चिनी र अन्य रसायनको प्रयोग हुन्छ । त्यो पनि अत्यधिक मात्रामा । ‘कार्बोनेटेड कोल्ड ड्रिंक्स’ मा त अझै धेरै मात्रामा चिनीको प्रयोग हुन्छ । सामान्य कोकमा मात्रै २० चम्चाभन्दा बढि चिनीको प्रयोग भएको हुन्छ । ‘जुन स्वास्थ्यको लागि घातक कुरा हो’, डा. दिलजानमनसुर भन्छन्, ‘यस्ता पेय पदार्थहरू मिठो विष हुन् ।’
शरीरमा चिनीको मात्रा धेरै हुँदा मोटोपना हुन्छ । ‘मोटोपनाले नै शरीरमा सबैखाले दीर्घरोग निम्त्याउने भएकोले यस्ता खाने कुरा नखाएकै राम्रो हो’, डा. मन्सुर भन्छन् ।‘कार्बोनेटेड सफ्ट ड्रिंक्स’ मा प्रयोग हुने ‘स्विटनर सिरप’ सामान्य चिनीको तुलनामा २० गुणा बढि गुलियो हुन्छ । जसले गर्दा यस्ता पेय पदार्थ खाँदा शरीरमा उर्जा आएको जस्तो भएपनि त्यो ‘फल्स इनर्जी’ मात्रै भएको मन्सुरको दाबी छ । र, यही बढि गुलियो भएको पेय पदार्थको उपभोग बढि हुँदै गएपछि मानिसलाई त्यसको ‘लत’ बस्ने उनको दाबी छ ।
‘पेप्सी, कोक, फ्यान्टा, ड्यू जस्ता पेय पदार्थको लत धेरै मानिसहरूमा देखिएको छ । यो ठ्याक्कै रक्सी, चुरोट, लागूऔषधको लत जस्तै हो,’ उनी भन्छन् । यस्ता पेय पदार्थमा पाइने ‘क्याफिनको कारण शरीरमा पानीको मात्रा पनि कम हुँदै जाने भएकोले यसले डिहाइड्रेसनको समस्या पनि निम्त्याउने मन्सुरको दाबी छ ।
पेप्सी, कोक, फ्यान्टा, ड्यू जस्ता ‘कार्बोनेटेड’ पेय पदार्थको बढि उपभोग गर्दा दाँतको समस्या, टाउको दुख्ने समस्या, पाचनप्रणाली सम्बन्धी समस्यासँगै मुटुसम्बन्धी रोग, मधुमेह, मृगौला सम्बन्धी रोग निम्त्याउँछ । उनले भने, ‘यस्ता पेय पदार्थमा प्रयोग हुने विभिन्न खाले रसायनसँगै फोस्फोरिक एसिडको कारण शरीरको हड्डी, दाँतलाई प्रत्यक्ष रुपमा कमजोर बनाउने काम गर्छ ।’
डा. मन्सुरले प्याकेजिङ गरिएका रियर जुस, फ्रुटी जस्ता जुस वा चिसो पेय पदार्थ उपभोग गर्नुको साटो प्राकृतिक फलफूलबाट तयार पारिएको जुस् खानु स्वस्थकर हुने बताए ।
स्वास्थ्यको लागि हानिकारक हुँदाहुँदै पनि सरकारले यस्ता पेय पदार्थहरूलाई निर्वाध रुपमा कारोबार गर्न स्वीकृति दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले नेपालमा उत्पादन भएर बजारमा आएका पेय पदार्थहरू गुणस्तर मापनपछि मात्रै आएको दाबी गर्छन् ।
‘बजारमा व्यापारिक उद्देश्यले उत्पादन हुने यस्ता पेय पदार्थहरूको निर्माण सम्बन्धमा सरकारको आफ्नै खाले मापदण्ड हुन्छ । र, त्यही मापदण्डको आधारमा उत्पादकहरूले उत्पादन गर्दै आएका छन्,’ उनले भने । तर विशेषज्ञहरूले भने वस्तु उत्पादनको सन्दर्भमा राज्यले जनस्वास्थ्यको विषयमा आँखा चिम्लिएको दाबी गर्छन् । व्यापारिक प्रायोजनका लागि उत्पादन भएपनि जनस्तरमा यस्ता खानेकुराहरूको प्रयोग न्यूनिकरणका लागि आवश्यक जानकारी दिन जरुरी रहेको डा. मन्सुर बताउँछन् ।
प्याकेज्ड फ्रुट जुस र कार्बोनेटेड ड्रिंक्सको इतिहास
सन् १८८५ भन्दा अगाडि फलफूलको जुस प्याकेजिङ गर्ने चलन थिएन । वैज्ञानिक चाल्र्स विलियम पोस्टले पहिलोपटक जुसलाई ‘क्यान’मा प्याकेजिङ गरेर बेच्ने कामको शुरुवात गरेका हुन् । जुसको ईतिहास धेरै पुरानो भएपनि जब प्याकेटमा भरेर जुस बेच्न शुरु भयो, त्यसपश्चात हालसम्म ‘फ्रुट जुस’ सबैको रोजाईको पेय पदार्थ बन्दै आएको छ ।
‘कार्बोनेटेड’ पेय पदार्थको सुरुवात भने १७ औँ शताब्दीमा युरोपबाट भएको मानिन्छ । सन् १७३३ मा बेलायतका वैज्ञानिक जोसेफ प्रिस्टलेले आफ्नो ल्याबमा पहिलोपटक कार्बोनेटेड पेय पदार्थको आविष्कार गरेका थिए ।
व्यवसायिक रुपमा भने १७८३ बाट मात्रै कार्बोनेटेड पेय पदार्थ उत्पादन भएको देखिन्छ । जेनेभामा ‘स्वीप्स’ नाम दिएर सोडाको रुपमा पहिलोपटक कार्बोनेटेड पेय पदार्थको बिक्री शुरु भयो । सन् १८४५ मा आर ह्वाइट्स लेमनेड, १८८५ मा डक्टर पेपर र १८८६ मा कोकाकोलाको व्यवसायिक उत्पादन शुरु भयो । बजारमा कोकाकोला आइसकेपछि यस्ता खाले पेय पदार्थको बजारिकरण यति आक्रामक भयो कि, मानिसहरूले सहज रुपमा पानी पाउन सकेनन् तर यस्ता पेय पदार्थ सहजै पाइन थाल्यो ।
नेपाली बजारमा पनि सन् १९७३ ताका नै यस्ता पेय पदार्थहरू आउन थालिसकेको थियो । तत्कालीन समयमा विश्व बजारमा चर्चित भइसकेको ब्रान्ड कोकाकोलालाई व्यापारीहरूले भारतबाट आयात गरेर नेपाली बजारमा बेच्न शुरु गरिसकेका थिए । कोकाकोलाको कम्पनी नै राखेर नेपाल मै उत्पादन शुरु भएको भने ४४ वर्ष मात्रै भयो ।
नेपालमा कार्बोनेटेड पेय पदार्थको बजार
व्यवसायीहरूले दिएको तथ्याङ्कलाई मान्ने हो भने नेपालमा बार्षिक ४० अर्बको हाराहारीमा ‘कार्बोनेटेड’ पेय पदार्थहरूको कारोबार हुन्छ । र, नेपाली बजारमा कारोबारको सबैभन्दा ठुलो हिस्सा ‘बोटलर्स नेपाल’ ले ओगट्छ । बोटलर्स नेपालले सार्वजनिक गरेको अघिल्लो वर्षको व्यापारिक विवरणअनुसार कम्पनीले १२ अर्ब ४९ करोड ४९ लाख ४५ हजार ९ सय २२ रुपैयाँको कारोबार गरेको छ । यो एक वर्षमा कम्पनीले खुद नाफा मात्रै साढे ३ अर्बभन्दा बढि कमाएको बोटलर्स नेपालको आधिकारिक वेबसाइटमा उल्लेख छ ।
कम्पनीले कोकाकोला, फ्यान्टा, स्प्राइटसँगै किन्ले पानी पनि उत्पादन गर्दै आएको छ । काठमाडौं र भरतपुर गरि २ ठाउँबाट कम्पनीले नेपाली बजारको लागि कोकाकोला, फ्यान्टा र स्प्राइटहरु उत्पादन गर्दै आएको छ । त्यस्तै अर्को विश्व चर्चित ब्राण्ड पेप्सीले पनि नेपाली बजारको ठुलो हिस्सा ओगट्छ । ‘वरुण वेभरेजेज् नेपाल प्रा.लि.’ ले पेप्सीको ‘फ्रेन्चाइज’ लाई नेपाल भित्राएको हो ।
विश्व बजारमा जस्तै नेपालमा पनि सबैभन्दा प्रतिस्पर्धा कोक र पेप्सीबीच नै छ । त्यो बाहेक नेपालमा पछिल्लो समय स्थानीयस्तरमै विभिन्न ब्रान्डका कार्बोनेटेड पेय पदार्थहरू उत्पादन हुँदै आएको छ । बजारमा लोभलाग्दो व्यापार गरिरहेका यस्ता पेय पदार्थले उपभोक्ताको स्वास्थ्यमा भने डरलाग्दो खेलवाड गरिरहेको विज्ञहरू बताउँछन् ।